रुपन्देहीमा एक महिलाको हत्या

काठमाडौं । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ। बुधबार साँझ घरबाट बाहिर निस्किएकी गैडहवा गाउँपालिका-२ की कलावति धोबीको हत्या भएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो।

मृतक धोबीको टाउकोमा चोट देखिएको छ। प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार उनी साँझ ५ बजे घरबाट निस्केकी थिइन्। उनको हत्या कसले किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको महतले बताए।

उनी सामान्य परिवारकी हुन्। उनका श्रीमान र चार छोरा छन्। घरबाट निस्किएको निकैबेर नफर्केपछि छोराहरू खोजीमा निस्केका थिए। ‘तोरीबारीमा रक्ताम्य अवस्थामा शव भेटिएको भनी छोराहरूले खबर गरेपछि प्रहरी पुगेको थियो,’ महतले भने।

ती महिलाको शव पोस्टमार्टमका लागि भीम अस्पतालमा लगिएको छ। महिलाको हत्या भएको अघिल्लो दिन पनि एक पुरुषलाई जलाएर हत्या गरिएको थियो। मायादेवी गाउँपालिका वडा नम्बर ७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एक युवाको शव फेला परेको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार