संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन

म्याग्दी । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । ‘भष्मासुर स्वच्छाचारी सरकार बिरुद्धको सन्देशसहित उडाइएको हो,‘अबका हरेक आन्दोलन केपी ओलीका गलत क्रियाकलाप बिरुद्ध हुन्छन’ विश्वकर्माले समाजिक सञ्जालमा लेख्नुभएको छ ।

संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको अवस्थामा म्याग्दीमा समेत कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । म्याग्दीमा केन्द्रिय कार्यक्रम अनुसार नै अगाडी बढेको प्रचण्ड–माधव समूह निकटले आफ्नो पक्षमा नेता तथा कार्यकर्तालाई आर्कषित गर्ने विभिन्न कार्यक्रमहरु गोप्य रुपमा सञ्चालन गरिरहेको स्रोतले जनाएको छ । म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहको कडा प्रतिस्पर्धा छ । जिल्लाका संघीय, प्रदेश र स्थानीय तहमध्ये अधिकांस जनप्रतिनिधि ओली लाइनमा देखिएका छन् भने जिल्लास्तरका नेताहरुमा दुबैले आफ्नो बहुमत भएको दावी गरिरहेका छन् । दोस्रो चरणको आन्दोलन अन्तरगत थप रणनीति सहित संघर्षका कार्यक्रमहरुको तयारी भइरहेको नेकपा म्याग्दीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार