संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगका विरामी हुन् : पुर्व मन्त्री बस्नेत (भिडिओ सहित )

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले संसद विघटन असंवैधानिक भन्नेहरु मानसिक रोगी भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले संसद विघटनलाई लिएर विरोधीहरुले कुब्याख्या गरेको आरोप लगाउनुभयो ।

‘आवधिक निर्वाचनमा जाने कुरा, जनताको मत लिने कुरा अलोकतान्त्रीक भनेर कसैले कुब्याख्या गर्छ भने तपाईहरुले बुझ्नुस उ मानसिक रोगी हो ’,–नेता बस्नेतले भन्नुभयो । सरकार गठन गर्दा दुई महिनासम्म अल्झाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनावको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ ?’ भन्दै प्रश्न गर्नुभयो । साथै संसद विघटन संवैधानिक भएको दावी गर्दै सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संबैधानिक अधिकार प्रयोग गरेर संसद बिघटन गर्नुपर्ने बाध्यात्मक कदम चाल्नुपरेको बताउनुभयो ।

https://www.facebook.com/watch/?v=509491276691667

ओली निकट बस्नेतले बैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेकपाका केही नेताहरु पार्टीबाट बाहिरिएका तर्क गर्दै बस्नेतले नेकपा नफुटेको दावी गर्नुभयो । सर्वोच्च अदालतले सरकारको कदमलाई साथ दिने र निर्वाचन आयोगबाट आफ्नै समूहले पार्टीको आधिकारिक नाम तथा चुनाव चिन्ह पाउने बस्नेतको दावी छ । प्रचण्ड र माधवकुमार नेपालले बहुमतको दम्भ देखाएर सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीलाई असहयोग र अवरोध गरेको उहाँको भनाई थियो ।

भेलामा नेकपाका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापा ,संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य नवराज शर्मा, केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, सन्तोष रावल, युवा नेता कुमार किसान(भोजबहादुर थापा ), बिद्यार्थी नेता प्रकाश पौडेल, साबित्री केसी, बिजय घर्ति लगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रबिन शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिशिर शाहीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार