अजिङ्गर भिरमा सडक :‘पाइला टेक्न नमिल्ने पहाडमा मोटर सरर’ (भिडियो/तस्विर)

कमल खत्री
म्याग्दी । रघुगंगा गाउँपालिका–७ गौडामुनीका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जिप चढेर आउनुभयो । पहिलो पटक घरदेखि सदरमुकाम सम्मको सवारी यात्रा गर्न पाउँदा ७६ बर्षका विकमा खुसीको उत्साह र उमंग थियो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्याक निर्माणले करिब तीन बर्षको प्रयासपछि माघ पहिलो साता मात्रै पूर्णता पाएको हो ।

????????????????????????????????????

मानिस हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा सडक निर्माण भएपछि रघुगंगा गाउँपालिका– ४ दर्मिजा, वडा नम्बर ७ चिमखोला र वडा नम्बर ८ कुइनेमंगले क्षेत्रका सयौँ घरधुरी प्रत्येक्ष रुपमा लाभान्वित बनेका छन् । तत्कालै नै सडकको ट्याक निर्माण होला भन्ने नलागेपनि अहिले आफु नै गाडी चढेर आवत जावत गर्न पाउँदा अत्यत्नै खुसी लागेकोको विकको भनाई छ ।‘‘ पहिले बृद्धबृद्धाहरु हिड्न सक्ने अवस्थै थिएन, डोकोमा बोकेर वारपार गर्नुपथ्र्यो, नभए घुमाउरो बाटो हिड्नुपथ्र्यो, पछि भिरमा मान्छे हिँड्ने बाटो बन्यो, यहि भिरको बाटोमा यसरी मोटर चढ्न पाइन्छ जस्तो त लागेकै थिएन, तर अहिलेत हरेक दिन मोटरगाडी ओहोर दोहोर गर्ने भैसक्यो’’– विकले हर्षित हुँदै भन्नुभयो । गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर कम्पनीको साझेदारीमा यस बर्ष अजिङ्गर भिरमा सडक निर्माण गरिएको हो । कडा चट्टान भएको यस भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरि यस बर्ष करिब ८ सय मिटर सडक निर्माण भएपछि सडकको ट्याक निर्माणले पूर्णता पाएको हो ।

यस अघि घुमाउरो बाटो भएर करिब एक दशक अघि नै बेनीदेखि बेग हुँदै चिमखोला पु¥याइएको सडक घ्यासीखर्क सम्म निर्माण गरिसकिएको थियो । तीन बर्षदेखि चिमखोलाबाट समेत दर्मिजा हुँदै अजिङ्गर भिरतर्फ सडकको ट्याक खोल्न सुरु गरिएको थियो । दुबैतर्फबाट खन्न थालेको सडकको ट्याक जोडिएसंगै अक्करे पहाड ‘अजिङ्गर भिर’ भएर सवारी साधन ओहोर दोहोर गर्न सुरु गरेका छन् । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने थालेसंगै दुर्गम बस्तीको रुपमा रहेका चिमखोला र कुइनेमंगले क्षेत्रका नागरिकले राहतको महसुस गरेको रघुगंगा–८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

????????????????????????????????????

‘‘ सिधा यातायातले जोडिएसंगै गाउँपालिकाको केन्द्र र सदरमुकाम आउन जान सहज भएको छ, हिजोका दिनमा सदरमुकाममा काम पर्दा कम्तीमा दुईदेखि तीन दिन लाग्थ्यो, अब घरबाटै बेनी आएर आफ्नो काम सकेर पुनः सोहि दिन घरमै पुग्ने अबस्थासम्म सिर्जना भएको छ ’’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । यस अघि यस क्षेत्रका नागरिकले सदरमुकामदेखि अजिङ्गर भिर नजीक सम्म मात्रै सवारी यात्रा गर्ने र त्यहाँदेखि पैदल आवत जावत गर्दै आएका थिए । ‘‘पहिले खुट्टा अडाएर हिड्ने ठाउँ समेत थिएन, खर र डोरि बाँधेर हिड्नुपथ्र्यो, पछि भिरमा मानिस हिँड्ने पैदलमार्ग बन्यो, अहिलेत भीरमा मोटर नै गुड्न थाले, हाम्रै पालामा यसरी भिरमा मोटरबाटो बन्ला भन्ने त लागेकै थिएन’’– चिमखोलाका ७० बर्षिय नन्द्रप्रसाद गर्वुजाले भन्नुभयो ।

 

पहिले नुन ल्याउनका लागि पैदल हिँडेर कास्कीको नयाँपुलबाट पहिलो पटक गाडी चढेर गएको स्मरण गर्दै गर्वुजाले अहिले आफ्नै घरदैलोमा गाडी आउँदा खुसी लागेको अनुभुती सुनाउनुभयो । बर्षौदेखि रोकिएको अजिङ्गर भिरको कडा चट्टान भएको पहाडमा गत बर्षदेखि सडक खन्ने काम सुरु भएको थियो । गत बर्ष विष्फोटक पदार्थको बन्दोबस्त मिलाउन ढिलाई भएको यस भिरमा यस बर्ष भने लक्ष्य अनुसार नै स्रोत, साधन र जनशक्ति जुटाएर भिरमा सडक निर्माण गरिएको दर्मिजाका स्थानीय युवा सुविन शेरपुञ्जाले बताउनुभयो ।

‘‘लामो समयदेखिको सपना साकार भएको छ, वडा, गाउँपालिका र तुँदी पावर कम्पनीसंगै प्रदेश र संघिय सरकारको समेत सहकार्यले दुर्गम गाउँबस्तीमा सडक पुग्न सम्भव भयो, अप्ठ्यारो भिरमा अत्यन्तै जोखिम मोलेर सडकमा काम गर्नेहरुको योगदान पनि अतुलनिय छ’’– शेरपुञ्जाले भन्नुभयो । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेको सडक अक्करे पहाडका कारण अघि बढ्न सकेको थिएन् । बिगतका बर्षहरुमा दग्नामदेखि चिमखोला जोड्ने सडकमा स्थानीय तहसंगै संघ र प्रदेश सरकारको समेत साझेदारी भएपनि यस बर्ष मुख्य भिर छिचोल्ने योजनामा गाउँपालिका र जलविद्यूत निर्माण कम्पनी तुँदी पावर कम्पनीले सहकार्य गरेका हुन् ।

यस भिरलाई लक्षित गरि चालु आर्थिक बर्षमा वडा नम्बर ७ चिमखोला र ८ नम्बर वडा कुइनेमंगलेको गौरवको योजनाको रुपमा रु १ करोड र वडा नम्बर ४ को २५ लाख बजेट परिचालन गरिएको र गाउँपालिकाको बजेट बराबर तुँदी पावर कम्पनीले साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सडक खण्डमा संघ, प्रदेश र स्थानीय सरकार मार्फत गरि अहिलेसम्म करिब ३ करोड बढी बजेट खर्च भैसकेको सुवेदीले बताउनुभयो । गाउँपालिका मार्फत विनियोजन भएको बजेटमध्ये रु १ करोड बजेटलाई प्रदिप पाईजाको अध्यक्षतामा गठन भएको उपभोक्ता समिति मार्फत काम गरिएको हो ।

चिमखोला र कुइनेमंगले क्षेत्रमा जलविद्युत निर्माण गर्न लागेको तुँदी पावर कम्पनीसंग साझेदार गरेपछि अक्करे भिरमा सडक निर्माण गर्न सहज भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो । ‘‘ दुर्गमका नागरिकलाई मोटर चढ्ने अवसरको सिर्जना गर्ने योजना सफल भएको छ, अहिले भिरमा सडकको ट्याक निर्माण भएको छ, तत्काललाई सवारी आवत जावत गर्न सक्ने भएको छ , तर यसलाई थप सुरक्षित बनाउन स्तरोन्नती गर्नुपर्नेछ, त्यसको लागि समेत आबश्यक काम अघि बढेको छ’’– अध्यक्ष भण्डारीले भन्नुभयो ।

 

आधा दुरी छोटियो
बेग हुँदै चिमखोला पु¥याईएको सडक घुमाउरो भएकाले ट्याक्टर मार्फत सामान ढुवानी र अत्याबश्यक रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो रहेको छ । अहिले अजिङ्गर भिरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करिब २८ किलोमिटरमै छोटिएको गाउँपालिकाका सब इन्जिनियर कमल चोखालले बताउनुभयो । सिधा सडक सञ्जालले करिब आधा दुरी छोटिएको छ भने नियमित आवत जावतले सडकको उपयोग र प्रभाबकारीता समेत बढाएको उहाँको भनाई छ ।पहिले घुमाउरो बाटो प्राविधिक रुपमा समेत अनुपयुक्त र जोखिमपूर्ण रहेको थियो । घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब ३ घण्टामै पार गर्न सकिने भएको कुइनेमंगलेका वडा अध्यक्ष छन्त्यालको भनाई छ ।

सडक नै विकासको पहिलो आधार रहेकाले यस अघि दुर्गम र पिछडिएको क्षेत्रका रुपमा परिचित यस क्षेत्रमा सडक सञ्जाललको पहुँचले बहुआयामिक प्रभाब पार्ने स्थानीय युवा गणेश पुनको भनाई छ । ‘‘ हिजो खाद्यान्न खच्चडले बोक्नुपथ्र्यो, ढुवानी खर्च बढी लाग्थ्यो, आज गाडीबाटै ढुवानी सम्भव भएको छ, बजारबाट खाद्यान्न बोकेका गाडीमा गाउँको आलु, सिमी, पशुजन्य उपज निर्यात गर्न सक्ने सुविधा भएको छ, समग्रमा स्थानीयको जनजिवनमा सडकले सकरात्मक प्रभाब पार्नेछ’’–पुनले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार