अफगानिस्तानको राजधानी काबुलमा बम हमला, दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ ।उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो ।

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिए। अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए । तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए ।

हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ । यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार