अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए ।

पोष्टमार्टम रिपोर्ट अहिलेसम्म नआएको र मृत्युको कारण पनि नखुलेको जनाइएको छ । हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीसँग मिलेर सोमवार राति बाहिर वार्वीक्यु पार्टी गरेर सुत्न गएका थिए ।

मंगलवार विहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।

नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि उनको शव नेपाल पठाउनेबारे पहल गरिएको खसोखासमा खबर छ ।

प्रमोदको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान सुरु गरिएको छ । यथाशीघ्र रकम आवश्यक भएकाले सबैलाई सहयोगका लागि अपिल गरिएको छ ।

टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास रहेको छ । अमेरिकामा सबै राज्यको तुलनामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु पनि टेक्सासमा रहेका छन् । पछिल्लो समयमा टेक्सासमा रहेका नेपाली विद्यार्थीहरुका सन्दर्भमा कैयन अप्रिय घटनाहरु बाहिर आएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार