केटु हिमाल आरोहीलाई पोखरामा भव्य स्वागत

पोखरा । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य स्वागत गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आरोहीलाई स्वागत गरेका हुन् ।

सोमबार बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा आएका सबै आरोहीलाई सम्मान स्वरुप बजार परिक्रमा गराइएको थियो । उनीहरुलाई नागरिक अभिनन्दन पनि गरिने आयोजकले बताएको छ । आयोजक पोखरा पर्यटन परिषद् (पिटिसी)ले आरोहीको सम्मानमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा संयोजक समेत रहेका सुशील पौडेलले आरोहीले प्रदेशको मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रलाई उच्च पहिचान दिलाउन सकेको भन्दै सम्मानको कार्यक्रम राखेको बताए । ‘ती सबै आरोही हिमाली क्षेत्रका हिरो हुन् । उनीहरुलाई सम्मान गर्दा समग्र नेपालकै पहिचान बढ्नेछ,’ उनले भने ।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष समेत रहेका पौडलले आरोहीले आफुहरुलाई मात्र नभई नेपालको पनि पहिचान बढाउन सफल भएको बताए । आरोहीको सफलता अन्नतः पर्यटनमा जोडिने उनले बताए ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो । टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो ।

संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको अवस्थामा नेपाली आरोहीले कीर्तिमानी कायम राखेकोले सम्मान गरेको परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराइले बताए । ८ हजार मिटर भन्दा माथिका हिमालमध्ये यो मात्र हिउदँमा आरोहण हुन सकेको थिएन । हिउँदमा पहिलो पटक नेपाली आरोहीहरुले सफलतापुर्वक आरोहण गरेर इतिहास रच्न सफल भएको उनले बताए ।

आरोहण सफलताको महान कार्यले विश्वमा नै नेपाल र नेपालीको विरतालाई सधै र सदाका लागी अविश्मरणीय बनाएको पनि अध्यक्ष भट्टराइले बताए । ‘वास्तवमा यो टोलीप्रति नेपाल र नेपालीले गर्व गर्नुपर्छ । विश्व मानचित्रमा नेपाल र नेपालीको गौरवमय इतिहास रच्न सफल भएका छन्,’ उनले भने । पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै नै कठिन मानिन्छ । माउन्ट केटुलाई आरोहणका लागि संसारकै जोखिमयूक्त हिमाल मानिन्छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार