नेकपा मुस्ताङ जिल्ला इञ्चार्ज पुन पक्राउ

म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताउनुभयो । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उहाँले भन्नुभयो , ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।’ पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।

पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुनुहुन्छ । उहाँ पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पर्नुभएको हो । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार