प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव

म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव मनाएका हुन् ।

विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका थिए भने सूर्य र हँसिया हथौडाको झण्डा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाई लगायतका नारा लगाएका थिए । ¥याली पछि बेनीका विरेन्द्रचोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले संविधानमै नभएको अधिकारलाई प्रयोग गरि ओलीले चालेको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको बताउनुभयो ।

उहाँले नेकपाकै अध्यक्ष समेत हरनुभएका ओलीले मुलुकलाई उल्टो गतितर्फ लैजान खोजेपछि पार्टीको बहुमत पक्षले उक्त कदमका विरुद्धमा आन्दोलन गरेको बताउँदै संविधानको कार्यान्वयनका लागि थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो ,‘सर्बोच्च अदालतको साहसिक र ऐतिहासिक फैसलाले संविधानको रक्षा र तानाशाही प्रवृती अन्त्य गर्नुका साथै स्वच्छाचारीलाई रोकेको छ ।’

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र सचिब बालकृष्ण सुवेदीले ओलीको प्रतिगमन विरुद्धको आन्दोलनले सार्थकता पाएकोमा जोड दिनुभयो । उहाँहरुले जिल्लामा ओली पक्षका केहि नेताहरुले कार्यकर्तालाई अलमलमा पार्न खोजेको बताउँदै गलतलाई गलत र सहिलाई सहि भन्न नसक्ने नेताहरुको पछि लागेर भविश्य अन्धकारमा नलैजान नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । सभाको युवा नेता कृष्ण कुमार विश्वकर्माले सञ्चालन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार