प्रदेश २: कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् तलब

काठमाडौं । कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा कोरोना महामारीको समयमा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिइ खटाइएका स्वास्थ्यकर्मीलाई आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णयसहित प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र पठाएको थियो । तर थपिएको अवधिको तलब तथा भत्ता आफूहरुले अझैसम्म नपाएको पीडित कर्मचारीको गुनासो छ ।

आफ्नो तलबभत्ता भुक्तानीका लागि उनीहरुले सामाजिक विकास मन्त्री, राज्यमन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेर आग्रह गरे पनि अझैसम्म भुक्तानी पाउन नसकेको पीडित कर्मचारीमध्येकै एक डा। पप्पुकुमार यादवले रातोपाटीलाई बताए ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ती स्वास्थ्यकर्मीको थपिएको चार महिनाको अवधिका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण तलब भत्ता रोकिएको हो । नियमानुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दीअनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्रीस्तरीय निर्णय गर्दै करार अवधि थप गरेको तर मन्त्रिपरिषद बैठकमा लगेर उक्त निर्णय अनुमोदन नगराएका कारण तलब भत्ता भुक्तानीका लागि कानुनी अड्चन देखिएको आर्थिक मामला तथा योजना मन्त्रालय स्रोतले जनायो ।

‘प्रदेश सरकारले जसरी दरबन्दी सिर्जना गर्नुपर्ने हो, त्यो प्रक्रियाअनुसार दरबन्दी सिर्जना नगरी काममा लगाइएका कारण समस्या देखिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कानुनी रुपमा दरबन्दी सिर्जना नभएको अवस्थामा हामीले तलब भत्ता दिन सक्ने अवस्था रहँदैन ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव एवं प्रवक्ता ठूलोबाबु दाहाल भने छानविन समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा प्रक्रिया अघि बढाइने बताउँछन् । स्वास्थ्य निर्देशकको नेतृत्वमा तीन सदस्यीय समितिले दरबन्दीबारे छानविन गरेको र हालै प्रतिवेदन तयार पारेको भन्ने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले सोही प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कारवाही अघि बढाउने जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुको रोकिएको तलब भत्ता भुक्तानीको प्रक्रिया अघि बढाउनका लागि तीन महिनादेखि आफूहरुले विभिन्न निकायमा धाउनु परेको तर अहिलेसम्म पनि भुक्तानीबारे टुङ्गो नलागेको गुनासो गरेका छन् । ‘हामीले दसैं, तिहार, छठजस्ता मुख्य चाडपर्वमा समेत तलब पाएनौं,’ पीडित स्वास्थ्यकर्मीमध्येका एक डा पप्पुकुमार यादवले भने, ‘चार महिने करार थप भएको अवधि पूरा भएको तीन महिना बितिसक्दा पनि भुक्तानीबारे अझै टुङ्गो नलाग्दा हामी मर्कामा परेका छौं ।

आफूहरुले माघ २७ गते सामाजिक विकास मन्त्रालयका सचिवलाई सम्बोधन गरी तलब भुक्तानीका लागि लिखित आग्रह गरेको र सोको बोधार्थ प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत पठाइएको उनले बताए । तर अहिलेसम्म पनि कतैबाट भुक्तानीका लागि पहल नहुँदा आफूहरु संघर्षमा उत्रने मनस्थितिमा पुगेको उनको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार