भागरथीको हत्या अभियोगमा दिनेश भट्ट पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

आजभन्दा १३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए। ‘आरोपितले अपराध स्वीकार गरिसकेका छन्’, डीआईजी सुवेदीले भने, ‘आरोपितलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौँ।’ प्रहरीले उनीमाथि शंका गरेर पक्राउ नगरी केही दिनदेखि निगरानी गरिरहेको थियो।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार