भारतको विहारमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या

एजेन्सी । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो ।

हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन । घटनाको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोबाट यो घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखको संलग्नतामा भएको खुलासा भएको छ। एसपी नविनचन्द्र झाले भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’

२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ । ११ जनाविरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ। अन्य सातजना जसमा घरधनी सियाराम साह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।

यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको थियो । त्यो अडियोमा २१ जनवरीमा कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ।’

एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको एसपी झालाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएको छ। बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गात्रबहादुर बिकले घटना भएको थाहापाएलगत्तै आफूहरुले पीडित परिवारको न्यायका लागि पहल गरिरहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार