भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो

नयाँ दिल्ली । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ ।

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ । दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ ।

गत वर्षको बजेटमा भने सुरुमा ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो । गतवर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो ।

भारतले सन् २०१९/२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०/२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो । पछि बजेटमा विनियोजितभन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ ।

विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्बभन्दा बढी अनुदान दिइने जनाइएको छ । भारतले श्रीलंकालाई दिने अनुदानमा भने उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष ७५ करोडमात्र अनुदान दिइएकोमा यस वर्ष त्यसलाई बढाएर २ अर्ब भारु पुर्‍याइएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार