मोना युकेद्धारा सपना रोका मगरलाई ६ लाख सहित सम्मान

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सपना रोका मगरलाई सम्मान गरेको छ । बिबिसीलेको विश्वभर एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपनालाई काठमाडौंमा आइतबार एक कार्यक्रमका विच मोना युकेको तर्फबाट प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जित बहादुर घर्तिले ६ लाख रुपैयाँ ,सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।

म्याग्दीको मंगला गाउँपालिका –४ बरंजा स्थित बुकेनीकी सपना बिबिसीको विश्वको एक सय प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी थियो । आफ्नो पवित्र कर्म मार्फत म्याग्दी र राष्ट्रको सम्मान र गौरव बढाएको भन्दै सपनालाई बधाई सहित सम्मान गरिएको मोना युकेका महासचिव लालु पुनले जानकारी दिनुभयो । जुम मार्फत संचालन भएको कार्यक्रममा बोल्दै सपनाले सम्मानप्रति मोना युकेबासीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले आफुले समाजबाट तिस्कृत र वेवास्ता गरिएकाहरुको सेवा गरिएको जानकारी दिनुभयो ।

मोना युकेका अध्यक्ष दल जुग्जालीको अध्यक्षता ,उपाध्यक्ष होम रोका मगरले स्वागत र महासचिव पुनले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन,मोना युकेका त्रस्ती तथा काउन्सिलर प्रवेश केसी ,मोना युकेका पुर्व अध्यक्ष उमेश राना लगायतले सम्बोधन गर्नुभएको थियो । महासचिव पुनले मोना युकेका सल्लाहकार तेज राम्जाली ,एनआरएन युकेका कोषाध्यक्ष ईन्जिनियर तेजेन्द्र रोका र मोना युथका अध्यक्ष अनिल मल्लको लिखित सम्बोधन पढ्नुभएको थियो ।

चार लाख सपनाको उच्च शिक्षा र दुई लाख रुपैयाँ सपनाको नयाँ फाउण्डेशनलाई गरी ६ लाख रुपैयाँ सहित मोना युकेले सम्मान गरेको मोना युकेका कोषाध्यक्ष पद सुन्दर गर्बुजाले जानकारी दिनुभयो । यसैगरी ,म्याग्दीका बाढी पहिरोबाट विस्थापित परिवारको पुर्नवासको लागि सात लाख रुपैयाँ मोना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तानतरण गरिएको छ । मोना यूकेका केन्द्रीय पदाधिकारी, पूर्व अधक्ष्य, त्रस्ती, सल्लाहाकार , महिला , मोना युथ र मोना भित्रका गाबिस र समाज अधक्ष्यहरु तथा बेलायतमा रहेका म्याग्दीलीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार