विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने

पोखरा । कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल, झाँकी, माला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

त्यसैगरि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता पनि आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । फागुन २४ देखि सुरु हुने प्रतियोगिता फागुन २७ गतेसम्म चल्ने अध्यक्ष नवराज ओझाले बताए । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने ओझाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेतालाई ८०, उपबिजेतालाई ६०, तृतीयलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई ३ हजार तथा अनुशासित टीमलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष ओझाले बताए ।

रुपाले स्थापना दिवसको अवसरमा झाँकी प्रतियोगिता समेत गर्ने भएको छ । स्थापना दिवसको अवसरमा फागुन २७ गते निकालिने झाँकी प्रदर्शनमा सहभागि मध्ये उत्कृष्ट हुने झाँकीलाई नगद ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने उनले बताए । लोपोन्मुख जातजातिको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले झाँकी प्रतियोगिता गर्न लागिएको अध्यक्ष ओझाले बताए ।

स्थापना दिवसको अवसरमा माला गास्ने प्रतियोगिता पनि आयोजना गरिने भएको छ । माला बनाउन जागरुक बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको बिजेतालाई ४ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजारसहित ट्रफी प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।

यसैबीच, गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रनिर्माण र राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा योगदान दिने गाउँपालिकाभित्रका लेखक, साहित्यकार तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई जनही १५ हजार १ सय १ सहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरिने पनि उनले बताए । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार