१२ केजी गाँजा सहित रुमका पुन पक्राउ

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवालाई प्रहरीले बिहीबार लागु औषध गाँजा सहित पक्राउ गरेको छ । भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । बिहीबारनै बेनी स्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।

यसैगरी सदरमुकाम बेनी बजारमा बिहीबार एक बृद्धा लुटिनुभएको छ । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो । दुई जना युवाले नेपाल बिद्युत प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पिडित किसानले बताउनुभयो । गहना लुटिएपछि किसान बिलौना गर्दै बिद्युत प्राधिकरणको कार्यालयमा पुग्नुभएको थियो ।

सामान्य निवेदन लेखेर वृद्धालाई प्रहरी कहाँ पठाएको बिद्युत प्राधिकरणका कर्मचारी सुर्य खत्रीले बताउनुभयो । केही दिनअघि पनि बेनीमा यस्तै शैलीमा अर्की बृद्धा लुटिनुभएको थियो । लुटेराको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार