अक्करे भिर छिचोलेर दुर्गम बस्तीमा पुग्यो सडक ,बृद्धबृद्धाले गरे उद्घाटन (फोटो फिचर )

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको दुर्गम बस्तीलाई जोड्ने सडकको उद्घाटन गरिएको छ । दग्नाम –दर्मिजा–चिमखोला हुँदै कुइनेमंगले जोड्ने सडकको सोमबार एक कार्यक्रमका विच दर्मिजाका ९६ बर्षिय दलबहादुर गर्बुजा ,कुइने मंगलेकी ९३ बर्षिया उदिमा कमिनी र चिमखोलाकी दश बर्षिया लिस्मा पुनले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका जेष्ठ नागरिकद्धयले खुशी व्यक्त गर्नुभयो । ‘ठ्याक्कै मिती याद त भएन धेरै बर्ष पहिले सदरमुकाम बेनीमा गाडी देखेका थियौं ,’उहाँहरुले भन्नुभाये ,तर अहिले आफ्नै घर आँगनमा आएको मोटरबाटोको उद्घाटन गर्न पाउँदा सपना जस्तै लागेको छ ।’

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगले ३६ किलोमिटर सडक सञ्जाल विस्तारले स्थानीय उत्साहित भएका छन् । गाउँपालिकाको ४ न वडा दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा दुई तर्फबाट काम गरि करिब १० महिनामा नै किरब एक किलोमिटिर सडकको ट्रयाक खोलिएपछि तीन वडाका स्थानीय बासीहरु खुशी भएका छन् ।

गाउँपालिकाको तीन करोड ६२ लाख ६० हजार ७५६ रुपैयाँ, गत आर्थिक बर्ष प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख ११ हजार ९३१ रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । प्रदेश सरकारबाट २०७५÷७६ मा ६५ लाख बजेट विनियोजन भएपनि २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७÷७८ मा पुर्वधार साझेदारी कार्यक्रममा आएको ५० लाखमा २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको र बाँकी कोेरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । उहाँका अनुसार यो बजेट स्थानीय सरकार मार्फत कार्यन्वयन भएको बजेट समावेश गरिएको छ ।

सुवेदीका अनुसार टुडि पावर कम्पनी प्रालि र संयुक्त उर्जा प्रालिको करिब ११ करोड लागतमा उक्त ट्रयाक खोलिएको हो । उनका अनुसार यो खर्च स्थानीय सरकार आएपछि र गाउँपालिकाको समन्वयनमा आएका कार्यक्रमको मात्र हो । स्थानीय सरकार आउनु भन्दा पहिले पनि यस सडकमा धेरै बजेट खर्च भैसकेको छ ।

गाउँपालिकाले जिल्लाको दुर्गम बस्तीलाई जोड्ने सडकको सोमबार जनजाती र दलित समुदायका जेष्ठ नागरिक तथा बालिकाबाट उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । ‘करिब ६ बर्षदेखी पैदल नअडिने अक्करे भिरमा चट्टान फुटाउन सुरु गरिएपनि सफल हुन सकेको थिएन ,स्थानीय सरकार आएपछि गाउँपालिकाको सक्रियतामा छोटो समयमै अक्करे भिरको चट्टान छिचोलेर सडक निर्माण गर्न सफल भएका छौं ,’गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ,‘सडक निर्माण भएपछि गाउँपालिकाका तीन वटा वडाका ग्रामिण भेगका करिब आठ हजार जनसंख्या लाभाम्वित हुनेछन् ।’ ‘सडक निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै सामाग्री ढुवानी तथा स्थानीय स्तरमा उत्पादनलाई बजारीकरण गर्न थप टेवा पुग्नेछ ,’अध्यक्ष भण्डारीले थप्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजाले आफुहरुले निर्वाचनको समयमा स्थानीय बासीलाई घोषणा गरे अनुसार सडक निर्माण गर्न सफल भएको बताउनुभयो ।

‘गलेश्वर–मौवाफाँट–दग्नाम हुदै कुईने सम्म पुग्ने ३६ किलोमिटर सडकको निमार्ण भएपछि हामी निकै शुखी भएका छौँ,’ वडा नम्बर ४ का वडा अध्यक्ष एकबहादुर गर्बुजाले भन्नुभयो, ‘२०६७ साल देखी यो सडकको निर्माण थालिएको हो तर, स्थानीय सरकार आएपछि गाउँ सम्म सडक ल्याउन सक्यौ, यो स्थानीय सरकारको ठुलो उपलब्धी हो ।’

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले सडक निर्माण भएपछि ग्रामिण भेगका जनतालाई ठुलो राहत मिलेको बताउनुहुँदै बाहै्र महिना सडक सञ्चालना ल्याउन प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार आउनु अघि देखी नै सडक निर्माणमा आफुले पहल गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा जलविद्युत आयोजना टुँडी पावर कम्पनीका डाइरेक्टर उपेन्द्र प्रसाद गौतम र सयँुक्त उर्जा प्रालिका इन्जिनियर सुवासचन्द्र बरालले आयोजनाका उद्धेश्य अनुसार गाउँपालिकाको योजनामा हातेमालो गरेको बताउनुभयो । उहाँहरुले सहयोग र स्थानीयको साथमा सडक निर्माण सम्भव भएको समेत बताउनुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य ओम छन्त्याल, वडा नं १ का अध्यक्ष बिलबहादुर फगामी, वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्ल, वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा वडा नं ७ का अध्यक्ष देउप्रसाद पुन, वडा नं ८ का अध्यक्ष गमान छन्त्याल, कार्यपालिका सदस्य यामकुमारी घर्ती,गाउँसभा सदस्यबाट लक्ष्मण पुन,धनप्रसाद गर्बुजा, वडा नं ८ का स्थानीय अगुवा एवम् चिमखोलाका नेकपाका नेता गम पुन,उपभोक्ता समितिको तर्फबाट संयोजक सुविन शेरपुञ्जाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भण्डारी, स्वागत उपाध्यक्ष तिलिजाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुबेदीले गर्नुभएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार