उदयपुमा आगलागीबाट ३ वर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारीमा अघिल्लो साँझ भएको आगलागीमा परी एक ३ वर्षीय बालकको निधन भएको छ । आईतबार साँझ ७ बजे भएको आगलागीबाट ३ परिवारका ३ घर ३ मतान र गोठ जल्दा त्यसभित्र रहेका लाखौं बराबरको धनमाल र चौपाया नष्ट भएको प्रहरीले जनाएको छ ।

कटारी नगरपालिका १० पाल्सिङ थुम्काका प्रकाश थापाको परालको कुनिउबाट एक्कासी सल्केको आगोले स्थानीय सुजन थापाका ३ वर्षीय छोरा अरविन्द्रको जयान गएको हो भने प्रकाश र सुजन थापाका घर तथा मतान जलेर खरानी भएको छ । आगलागीबाट प्रकाश थापाको ढुंगामाटोले बनेको फुसको छाना भएको ३ तले एउटा घर, २ मतान र १ लाख ५० हजार नगदसमेत जलेर नष्ट भएको छ ।

त्यस्तै २ तोला सुन, १५ तोला चाँदी, अन्नपात, लत्तापकडा, भाँडाबर्तन र २ वटा बाख्रा पाठा तथा एउटा भैंसीको पाडा जलेको छ । प्रकाश थापाको मात्र २८ लाख बराबरको धनमाल आगोले खाएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उनकोसँगै सुजन थापाको पनि ढुंगामाटोले बनेको फुसको छानाको २ तले घर, एउटा मतान, बाख्रा खोर र २ वटा पाठा, अन्न्पात, लत्ताकपडा, भाँडाबर्तन र १ लाख ५० हजार नगद जलेको छ । उनको पनि ३० लाख बराबरको क्षति भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्का छिमेकी मेखबहादुर थापाको पनि ढुंगामाटोकै २ तले घर र एउटा मतान जल्दा अन्नपात, लत्ताकपडा, भाँडाबर्तन बाख्राका पाठा ३, कुखुरा २५ वटा गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको स्थानीय बेतिनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई उद्धृत गर्दै इप्रका कटारीले जनाएको छ ।

प्रहरी चौकी बेतिनी, प्रहरी चौकी सोरुङछविसे र इलाका प्रहरी कार्यालय कटारीबाट खटेको संयुक्त टोलीसहित स्थानीय मिलेर राति १०ः०० बजे आगो नियन्त्रणमा लिइएको छ । इप्रका कटारीबाट झण्डै २६ किलोमिटर उत्तरपूर्वमा रहेको घट्नास्थल पुगेको प्रहरीले आगो लाग्नुको कारणबारे पत्ता लागिनसकेको जनाएको छ । घट्नास्थलको सर्जमिन मुचुल्का गरेर प्रहरी टोली आईतबार राति कटारी फर्केको छ । घट्नाबारे अनुसन्धान सुरु भएको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताएका छन् । nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार