किर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई कैद

सप्तरी । किर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश रीता बख्रेलको इजलाशले गङ्गाधरलाई तीन वर्ष कैद र रु २० हजार जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुईरदुई वर्ष कैद र १०/१० हजार जरिवाना, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ की बिल्टीदेवी यादवको जग्गाधनी पुर्जामा उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गङ्गाधरको नागरिकतामा पनि उल्लेख भएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपलेश्वरकी श्रीमती बिल्टीदेवी गङ्गाधरकै सासू हुन् । सामाजिक परम्परानुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गरेका गङ्गाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन् । सुभद्रादेवी भने डाक्नेश्रीस्थित माइत बस्ने गर्छिन् ।

सासूको नागरिकता नम्बर किर्ते गरी आफ्नो बनाएका गङ्गाधरले मतदाता नामावली परिचयपत्रसमेत बनाई मतदान गर्दै आएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीकाअनुसार गङ्गाधरकै कीर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवबाट कात्तिक १६ गते उजुरी परेपछि प्रशासनले छानबिन गर्न लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरुको नागरिकता कीर्ते रहेको ठहर भएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार