थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।

https://fb.watch/4xCgYP_1hd/

यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक–एक गोल गर्नुभयो । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काउनुभयो ।

सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गर्नुभयो। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गर्नुभयो। यो उहाँको पहिलो अन्तर्राष्ट्रिय गोल हो।उहाँले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गर्नुभएको थियो। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो।

सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पार्नुभएको हो ।एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ टिमबीच प्रतिस्पर्धा भएको हो।

समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार