नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर )

बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा विहिबारदेखी म्याग्दीको सदरमुकाम बेनीमा एघारौं राष्ट्रिय भेला सुरु भएको हो । रजत जयन्ती अवसरमा बेनीमा दुई दिन सम्म संचालन हुने भेलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको छ ।

मन्त्री पुनले मगर समुदायका युवा युवतीहरुले विदेश जाने र लाहुरेको मानसिकता त्याग्न जरुरी रहेको बताउनुभयो । उहाँले बिदेशिने सोच त्यागेर उच्च शिक्षा हासिल गरी देशभित्र निजामति, ब्यापारिक, प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेर देशको सेवा गर्ने भावना बनाउन आग्रह गर्नुभयो ।


‘मगर समुदायमा अझै पनि पढेकालाई भन्दा बिदेश जानेलाई ठुलो मान्ने गलत परम्परा छ,त्यो हटाउन जरुरी छ’ –मन्त्रि पुनले भन्नुभयो,‘ मगर समुदायको उत्थान गर्ने हो भने शैक्षिक जागरण ल्याउनुपर्छ । योग्य र सक्षम भएर प्रशासनीक र राजनीतिक क्षेत्रमा उपस्थिति बढाउनुपर्छ । सरकारी निकायमा मगर समुदायको उपस्थिती कम हुँदा र भएका मगरले चासो नदिँदा हाम्रो कोटामा अन्य समुदायले अवसर पाएका थुप्रै उदाहरण छन् ।’

प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षण, अध्यक्ष केन्द्रसँगै पर्यटन प्रर्वद्धनका लागि कल्चर भिलेजको परिकल्पना गरेर जग्गा खोजी सुरु गरेको जानकारी दिदै मन्त्री पुनले मातृ भाषामा पढाउने बिद्यालयलाई थप अनुदान र स्थानीय तहको मातृ भाषाको पाठ्यक्रम तथा पुस्तक बनाउन सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । नेपाल मगर संघका केन्द्रिय सचिव तथा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले आसन्न जनगणनाका क्रममा मगर समुदायको बास्तविक तथ्याङ्क पहिचान गर्नका लागि मगरले अन्यसँग मिल्ने थर नलेखाउन अनुरोध गर्नुभयो । उहाँले मातृ भाषामा पाठ्यक्रम बनाउन विज्ञ नपाएको बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले संघीयताको भावना अनुसार संरक्षित र बिशेष क्षेत्रका रुपमा रहेका स्थानीय तहलाई संघ र प्रदेश सरकारले बजेट बिनियोजनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका अध्यक्ष बिष्णुकुमार थापा मगरले बताउनुभयो । उहाँका अनुसार मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने बिषयमा छलफल गर्ने भेलाका एजेन्डा छन् ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका सभापति खम बहादुर गर्बुजा खम्बिर नेकपा माओबादी केन्द्रका प्रतिनिधि शेरबहादुर केसी ,मगर संघका प्रदेश सचिव राजकुमार थापा, जिसस प्रमुख देवेन्द्र बहादुर केसी,जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख दल बहादुर थापा मगर ,अधिवक्ता गौबहादुर आले मगर ,नेपाल मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाईजा ,नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रीय प्रचारप्रसार सचिव खम थापा मगर ,जेसिजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल ,मगर विद्यार्थी संघ म्याग्दीका उपाध्यक्ष दर्पण रोका मगर लगायतले बोल्नुभएको थियो । अध्यक्ष थापा मगरको अध्यक्षता ,महासचिव प्रेम रोका मगरको सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले स्वागत गर्नुभएको थियो ।

देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको थियाे । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली सोरठी नृत्य समेत देखाईएको थियाे  । भने  ¥यालीमा सहभागीहरुले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा नारा समेत लगाएका थिए । भेलामा देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना, विश्वविद्यालयको तर्फबाट १४ जना प्रतिनिधि संगै स्वयमसेवकहरुको समेत उपस्थिती छ । ¥यालीमा सहभागीहरुलाई बेनीका विभिन्न सामाजिक संघ संस्थाहरुले चोक चोकमा स्वागत गरेका थिए ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार