पोखरामा रेस्लिङ प्रतियोगिता हुने

पोखरा । पोखरामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रेस्लिङ संघको आयोजनामा यही चैत्र २० र २१ गते दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले सर्वाधिक नगद पुरस्कार भएको रेस्लिङ च्याम्पियनशिप प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने जानकारी दिइन् ।

उनले प्रतियोगितामा च्याम्पियन हुने रेस्लरले सर्वाधिक १ लाख नगद र दोश्रो हुनेले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने बताइन् । रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने महासचिव श्रेष्ठले जानकारी दिइन् । कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको उनले बताइन् । प्रतियोगितामा प्रवेश शुल्क १ सय र २ सय तोकिएको श्रेष्ठले जानकारी दिइन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले रेस्लिङ प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए । उनले यस्ता प्रतियोगिताले पोखरालाई खेलकुदको हब बनाउन भूमिका खेल्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले रेस्लिङ प्रतियोगिता सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम, मनी र विकास श्रेष्ठ लगायत रहने छन् । प्रतियोगिता सम्पन्न गर्न २९ लाख खर्च हुने अनुमान आयोजक पक्षको रहेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार