‘बेनीको बजार, जता माया उतै छ नजर’ का सर्जक श्रेष्ठको निधन

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता माया उतै छ नजर‘’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ ।

यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ । लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए। उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए ।

तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए । विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता माया उतै छ नजर’ बोलको गीत गाएका थिए ।

सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताउनुभयो । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार