म्याग्दीमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता ‘किसुनजी’को १०औं स्मृति सभा

बेनी । नेपाली कांग्रेस मयाग्दीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । विहिबार कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा स्मृती सभाको आयोजना गरेर स्मृती दिवस मनाएको हो । कार्यक्रममा जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले किसनजी प्रति श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभयो ।

सभापति गर्बुजाले पार्टीभित्र सबैको एकताले मात्र पुर्वप्रधानमन्त्री तथा संस्थापक नेता.भट्टराई लगायत नेताको विचार र सपना साकार हुने बताउनुभयो । किसुनजीले प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान दिन सफल भएको सभापति गर्बुजाले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनमतको अवहेलना गरेको सभापति गर्बुजाले आरोप लगाउनुभयो । संविधानको हत्या गर्ने ओलीको असंवैधानिक कदमलाई बदर गरेर सर्बोच्च अदालतले विफल बनाइदिएको समेत बताउनुभयो ।

स्मृती सभा कार्यक्रममा पुर्व जिल्ला सभापति डा.भुपेन्द्र बहादुर खड्का ,जिल्ला सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रवक्ता अजयमिलन श्रेष्ठ ,सहसचि भरतबहादुर रकाल ,प्रदेश सभा खका मनोनित उपसभापति गोपाल भट्टचन ,तरुणदल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल ,राष्ट्रिय मगर संघका अध्यक्ष हिराबहादुर पुन मगर ,जिल्ला सदस्य मनकुमारी विश्वकर्मा,नेपाल महिला संघकी जिल्ला सचिव सृजना श्र्ेष्ठ ,नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्री लगायतले बोलेका थिए । सभापति गर्बुजाको अध्यक्षतामा भएको स्मृती सभा कार्यक्रममा उपसभापति माधवप्रसाद रेग्मीले स्वागत मन्तव्य र सचिव क्याप्टेन मिन बहादुर कार्कीले संचालन गर्नुभएको थियो ।

‘सन्त’ नेताका नामले परिचित भट्टराईको वि.सं ०६७ साल फागुन २० गते निधन भएको थियो । वि.सं. १९८१ मा जन्मनुभएका भट्टराईले राणाशाही र पञ्चायतविरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईले करिव २० वर्ष कांग्रेसको सभापति बनेर नेतृत्व दिनुभएको थियो । भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत हुनुभएको थियो ।

वि.सं.२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा सक्रिय रहँदै आउनुभएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान दिन सफल हुनुभएको थियो ।

०५६ सालको आम निर्वाचनपछि पनि उहाँ प्रधानमन्त्री हुनुभएको थियो । २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख हुनुभएका उहाँ नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुनुहुन्छ ।

सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किनुभएको थियो । जसकै कारण आज पनि उहाँलाई सन्त र आदर्श नेताको रुपमा लिने गरिएको छ । भट्टराई नेपाली कांग्रेसभित्र ‘किसुनजी’ नामबाट पनि परिचित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार