स्वर्गीय घिमिरेको परिवारलाई जापानबाट दुई लाख २९ हजार रुपैयाँ सहयोग

थम्मन थापा
बागलुङ । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले म्याग्दीको  बेनी नगरपालिका– २ म्याग्दीका घिमिरे परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत ६ वर्ष देखि कुक भिसामा जापानमा रहेका घिमिरेको गत वर्ष बिदामा नेपाल आएको बेला निधन भएको थियो । घिमिरेको निधन पछि बेसाहारा बनेका उनको परिवारलाई जापानमा संकलित २ लाख २९ हजार रुपैयाँ सामाजिक संस्था घुम्टे युवा परिवार सँगको समन्वयमा संस्थाको होली पूर्णिमा मेलाको अवसरमा श्रीमती मिना घिमिरेलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।

श्रीमानको मृत्यु पछि बेसाहारा जस्तै बनेको उनको परिवारलाई आर्थिक सहायता होस भन्ने उद्देश्यले रकम संकलन गरी सहयोग गरिएको समाजका कोषाध्यक्ष इश्वर बस्नेतले बताए । स्वर्गीय घिमिरेका १ छोरा रहेका छन् । उनको १ वर्ष अगाडि निधन भएको थियो । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले विभिन्न समयमा बेसाहारा र समस्यामा परेका नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

स्वर्गीय घिमिरेको परिवारलाई सामाजिक संस्था घुम्टे युवा परिवारको परम्परागत होली मेलाको अवसरमा संकलित रकम हस्तान्तरण गर्ने योजना अनुरुप संस्था सँग आवश्यक समन्वय गरी उक्त रकम स्वर्गीय घिमिरेको पत्नी मिना घिमिरेलाई हस्तान्तरण गरिएको समाजका सचिव दिनेश थापाले बताए । आर्थिक संकलन अभियानमा झण्डै १ सय जना सहयोगदाताहरुले सहयोग गरेका छन ।

संकलित रकम घुम्टे युवा परिवार होली मेला २०७७ को मुल समारोहका प्रमुख अतिथि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापाले संयुक्त रूपमा हस्तान्तरण गरेको गलकोट समाज गलकोटका सदस्य छुन बहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार