नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुरुवात गर्नुभयो ।

यसैगरी ,सोमबार शिवालय र इन्द्रेनी टोल सुधार समिति अन्तर्गतका घरधनीलाई डस्टबिन वितरण गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । बजारका करिब एक हजार घरधुरीलाई रातो र हरियो रंगको दुई वटाका दरले दुई हजार डस्टबिन वितरण गर्ने नगरपालिकाको योजा छ ।

हरियोमा कुहिने र रातोमा नहुहिने फोहर संकलन हुन्छ । क्म्प्याक्टर र ट्याक्टरले आलोपालो कुहिने र नकुहिने फोहोर घरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले बताउनुभयो । नगरपालिकाका अनुसार ,फोहोर व्यवस्थापन शुल्क तिरेका घरधनीले मात्र सो डस्टबिन पाउनेछन् ।

नगरपालिकाले ठेक्का प्रक्रिया मार्फत १३ लाख ७६ हजार रुपैयाँमा डस्टबिन खरिद गरेको छ । बजार सरसफाइ र घरधनीलाई फोहोर व्यवस्थापना गर्न सहज होस भन्ने उद्धेश्यले डस्टबिन वितरण थालिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनी बजारमा यो अभ्यास सफल भएपछि गलेश्वर तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यही विधि अपनाउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार