इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

काठमाडाैं । इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै इराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले इराकलाई अग्रता दिलाउनुभएको थियो । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।

२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाउनुभयो । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गर्नुभयो र उहाँले डेब्यु खेलमै गोल गर्नुभएको हो ।३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काउनुभयो। लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाउनुभयो।

६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाउनुभयो । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाउनुभयो ।खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गर्नुभएको थियो ।

नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।

नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०/१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार