उच्च ज्वरोले सर्लाहीको मिर्जापुरमा ४ को मृत्यु

सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ । भारतसँगको सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार र आइतबार गरी दुई दिनमा उच्च ज्वरो लागेर चार जनाको ज्यान गएको हो ।

मिर्जापुरका ८० वर्ष भन्दामाथिका दुई वृद्ध र ४०/४५ वर्षका दुई पुरुषको उच्च ज्वरोका कारण ज्यान गएको नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए । चारजना मध्ये तीन जनाको गाउँमै र एकजनाको वीरगन्जमा उपचारको क्रममा ज्यान गएको मेयर सिंहले बताए । मेयर सिंहका अनुसार उच्च ज्वरो लागेर घरमै थलिएका तीनजनाको आइतबार ज्यान गएको हो । अर्का एकजनाको सोमबार वीरगन्जमा उपचारको क्रममा ज्यान गएको हो ।

नगरका विभिन्न बस्तीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका सयौंको संख्यामा बिरामीहरु घरमा बसिरहेको मेयर सिंहको भनाइ छ । ‘उच्च ज्वरो लागेर दुई दिनमा चारजनाको ज्यान गएको छ, कोरोनाको लक्षण भएका सयौं अझै गाउँमै छन्,’ उनले भने, ‘कोरोनाको संक्रमण समुदायमा फैलिसकिएको अनुमान छ ।’

मृतक सबै गाउँमै बसिरहेका थिए । भारतमा रोजगारीको क्रममा मृतक परिवारबाट कोही पनि नगएको भएपनि उनीहरुको प्रमुख बजार भारतको बसबिट्टा रहेको छ । सीमा बन्द भएपनि यस क्षेत्रका नागरिक भारतीय बजार पुग्ने गरेका थिए । सदरमुकाम मलंगवाबाट ३३ किलोमिटर पश्चिम पर्ने बलरा नेपाली बजारको पहुँचबाट टाढा छ । जसकारण यस क्षेत्रका नागरिकलाई भरतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ।

मिर्जापुरमा उच्च ज्वरोका कारण चारजनाको मृत्यु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक टोली पठाएको थियो । मृत्यु भएका व्यक्तिको सम्पर्कमा आएका २९ जनाको जाँच गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको कार्यालयका प्रमुख श्रवणकुमार नायकले बताए । उनले मंगलबार पनि एक टोली मिर्जापुरतर्फ गएको जानकारी दिए ।

‘सोमबार मात्र स्वास्थ्यका एक टोली बलराको मिर्जापुर गएको थियो, त्यहाँ मृतक तीनजनाको सम्पर्कमा आएका २९ जनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा पोजिटिभ पाएको छ, उनीहरुमा समान्य लक्षण पनि देखा पर्न थालेको छ,’ उनले भने, ‘सोमबार थप एकजनाको मृत्यु भएपश्चात स्वास्थ्य कार्यालयबाट थप एक टोली पठाएका छौं ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार