काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री शुक्रबार तीन गाउँपालिकाका लागि वितरण गरेका छन् ।

सो स्वास्थ्य सामाग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,पुर्व सांसद नरबहादुर पुन ,महासमिति सदस्य चिरञ्जिवी शर्मा र सहयोगदाता बोमहादुर पुनले नेपाली कांग्रेस मालिका गाउँपालिका इकाई सभापति खिम बहादुर पुन ,धवलागिरी गाउँपालिकाका इकाई सचिव नगेन्द्र मल्ल र मंगला गाउँपालिका इकाई सभापति नरसिङ केसीलाई हस्तान्तरण गर्नुभयो । साबुन ,स्यानिटाइजर ,मास्क र थर्मल गण लगायत स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो ।

सभापति गर्बुजाले सहयोगप्रति पोखरा र काठमाडौंमा बस्दै आएका म्याग्दीबासीहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले जिल्लामा कोरोना संक्रमण दर रोकथाम था नियन्त्रणका लागि नेपाली कांग्रेस म्याग्दीले एम्बुलेन्स र फुड बैंक स्थापना गर्नुका साथै संक्रमित विरामीको उपचारमा सहयोग गरेको बताउनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण फैलिरहेकोले स्वास्थ्य मापदण्ड पालना गर्न समेत सभापति गर्बुजाले जिल्लाबासीलाई अपिल गर्नुभयो ।

कोरोना महामारीको समयमा संक्रमणको जोखिम कम होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको सहयोगदाता पुनले बताउनुभयो । उहाँँका अनुसार सो स्वास्थ्य सामाग्री स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा इकाई समितिले पालिकाबासीहरुलाई वितरण गर्नेछ । सहयोगदाताद्धय छन्त्याल र पुन नेपाली कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य समेत हुनुहुन्छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं बस्दै आउनुभएका रेशम फगामी ,सोही धवलागिरी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौं बस्दै आउनुभएका तिर्थ छन्त्याल र मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल पोखरा बस्दै आउनुभएकी भक्तमाया फगामीले आर्थिक सहयोग गर्नुभएको छ । यसैगरी अन्य पालिकामा पनि आवश्यकता अनुसार स्वास्स्थ्य सामाग्री सहयोग गर्ने उहाँको भनाई छ । हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ का सचिव श्रीराम पौडेल लगायत तरुणदलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार