मालिका गाउँपालिकामा लकडाउन ,अत्यावश्यक बाहेकका सेवा बन्द

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा  बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मालिकाा इकाइ लगायतका सरोकारवालाहरुको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आइतबार राति १२ बजेदेखि लागू हुने गरि जेठ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा ( लकडाउन ) गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।  समुदाय स्तरमा थप कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वाब संकलन अभियान संचालन सुरु गरेको समेत बताउनुभयो ।

लकडाउनमा गाउँपालिका कार्यालय र वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेभएका छन् ।लकडाउनमा सार्वजनिक वा निजी यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुला रहनेछन् । यसैगरी, बैठकले सरकारी बैंक तथा वित्तीय संस्थाहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालन गरी बिहान ७–९ सम्म मात्र सञ्चालन हुनेछन् । जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ । यसैगरी लकडाउन अवधीभर छिमेकी गाउँपालिकाबाट हुने आवतजावत तथा गाउँपालिका भित्र एक वडाबाट अर्को वडामा आवतजावत गर्न समेत निषेध गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार