मालिका गाउँपालिकाले बनायो आइसोलेसन वार्ड

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि १५ बेडको सुविधा सम्मपन्न आइसोलेसन वार्ड निर्माण गरेको छ। गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ६ दरबाङ छ्यारछ्यारे स्थित बहुद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिनुभयो ।

यसअघि गाउँपालिकाले दरबाङ स्थित जनप्रिय माविको विद्यालय भवनमा ५ शय्याको कोरोना अस्पताल बनाएको थियो । सो कोरोना अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो । अहिलेसम्म मालिका गाउँपालिकाको आइसोलेसनमा कोरोना संक्रमित भर्ना भएका छैनन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिनुभयो । आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ । उहाँका अनुसार मालिका गाउँपालिका ठेगाना भइ हाल गाउँपालिका बाहिर बसोबास गर्ने व्यक्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको र गाउँपालिका भित्रका संक्रमितले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो ,’–गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भन्नुभयो ,‘कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन गाउँपालिकाले २५ गतेदेखी नियमित रुपमा स्वाब संकलन अभियानलाई बृहत बनाउने तयारी थालेको छ ।’ साथै गाउँपालिका अध्यक्ष रोका मगरले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न समेत सबैलाई अपिल गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार