रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडिओ)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल र धर्मराज सुवेदीले उक्त मुल्य बराबरको कोरोनाका विरामीको लागि आबश्यक पर्ने औषधी र ५ थान अक्सिमिटर उपलब्ध गराउनुभएको हो ।

 

सहयोगदातात्रयले उपलब्ध गराउनुभएको औषधी र स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी मार्फत कोभिड–१९ अस्थायी अस्पतालका लागि हस्तान्तरण गर्नुभएको छ । सहयोगदाता समाजसेवी केसीले यस अघि गत मंसिरमा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा पुग्ने गरि रु ७० हजार बराबरको १७ थान अक्सिमिटर र १५ सय थान मास्क उपलब्ध गराउनुभएको थियो ।

कोरोनाका विरामीहरुमा धडकन र अक्सिजनको मात्रामा समस्या आउन सक्ने भएकाले विरामीहरुको अबस्था पत्ता लगाउन र समस्या देखिएमा समयमै उपचार गराउन प्राप्त स्वास्थ्य सामाग्री र औषधीले सघाउने गाउँपालिकाका स्वास्थ्य संयोजक टिका बहादुर शाहीले जानकारी दिनुभयो । ‘‘डाक्टर र विशेषज्ञहरु मार्फत सिफारिस भएका औषधीहरु प्राप्त भएको छ, प्राप्त औषधीलाई कोभिड अस्पताल मार्फत विरामीहरुलाई आबश्यकता अनुसार उपलब्ध गराउन सुरु गरेका छौँ, ’’–स्वास्थ्य संयोजक शाहीले भन्नुभयो ।

सहयोगदाता मार्फत प्राप्त ओषधी र स्वास्थ्य सामाग्रीले कोरोना माहामारीमा जुधिरहेको गाउँपालिकालाई रचनात्मक सहयोग पुगेको भन्दै गाउँपालिका अध्यक्ष भण्डारीले धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले महामारीको अबस्थालाई सामान्य बनाउन स्थानीय सरकार मात्रैको प्रयास सम्भव नहुने भएकाले सबै क्षेत्रको साथ, सहयोग, सहकार्यले मात्रै सम्भव रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न गाउँपालिकाबासीमा आह्वान गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार