रघुगंगा गाउँपालिकामा जेठ ८ गतेसम्म लकडाउन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार, होटल, लगायतका क्षेत्र बन्द हुने भएका छन् । लकडाउन अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, तोकिएको समयमा खाद्य बस्तु खरिद गर्ने लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।उक्त समयमा तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निश्चित अवधिमा मात्रै सञ्चालन गर्न पाउने जनाईएको छ ।

निषेधाज्ञाको समयमा धार्मिक स्थलहरुमा पुजाआजा गर्ने, मान्छे जमघट गरि हुने विवाह , ब्रतबन्ध लगायतका कुनैपनि जमघटन तथा भेला हुने गतिविधि सञ्चालन गर्न रोक लगाईएको छ । लकडाउनको अवधिमा बैँक तथा सहकारी संस्थाहरु, वडा र गाउँपालिकाको समेत अत्याबश्यक बाहेकको सेवा बन्द गर्ने जनाईएको छ ।


यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र संलग्न मजदुरहरुमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने, बाहिरबाट मजदुर ल्याउन परेमा गाउँपालिकाको सिफारिस लिने र अनिवार्य १० दिन क्वारेनटाई राखेर कोरोना परिक्षण गरी कोरोना संक्रमण नभएको पुष्टि भएमा मात्रै कार्यक्षेत्रमा परिचालन गर्न पाउने प्रावधान बनाईएको छ । गाउँपालिकाको सिफारिस बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले रघुगंगामा लकडाउन लगाउने जनाईएको छ ।

यस अघि, म्याग्दीका बेनी नगरपालिका सहित मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाईसकिएको छ भने धौलागिरि गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुका साथै आन्तरिक रुपमा आवत जावतलाई बन्द गराएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार