सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो।

गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित भित्री सडकखण्डमा भगवतीपुरबाट उनी मोटरसाइकलमा सहिदपुर जाँदै थिए।

उनले चलाएको भारतीय नम्बर प्लेट बिआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले सोही ठाउँका ४ वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिएका थिए। ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि वडाध्यक्ष यादव भने फरार भएका थिए। फरार भएका वडाध्यक्ष यादवलाई प्रहरीले खोजतलास गरी थप अनुसन्धान अघि बढाएको छ। सर्लाही जिल्ला अदालतबाट प्रहरीले सवारी ज्यान मुद्दामा ६ दिनको म्याद अनुमती लिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार