एनआरएनए युकेको उपाध्यक्षमा म्याग्दीका रोका मगरले उम्मेद्वारी दिने

लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चाल्नुभएको थियो।

सधैँ आर्थिक घोटालाको आरोप लागिरहने एनआरएनए युकेमा उहाँ कोषाध्यक्ष भएपछि बैँकिङ प्रणालीबाट मात्र कारोबार गर्ने व्यवस्था गर्नुभएको छ भने अनावश्यक बिल भर्पाई पेश गरी संस्थाबाट भुक्तानी लिने प्रथाको अन्त्य गर्नुभएको छ। उहाँकै कार्यकालमा लेखा समिति खडा गरिएको छ । एनआरएनए युकेको आर्थिक कारोबारलाई आन्तरिक लेखा परिक्षण गरी हरेक तीन–तीन महिनामा कार्यसमितिमा प्रतिवेदन पेश गर्ने परम्पराको विकास गर्नुभएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा जन्मनुभएका रोका मगर विद्यालय अध्ययन गर्दादेखि नै सामाजिक कार्यमा लाग्नुभएको हो। बीई र एमईमा डिस्टिङसन ल्याएका रोका मगर नेपाल इन्जिनियर्स एसोसिएसनको शाखाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

उहाँले नेपालमा म्याग्दी, लमजुङ, बाग्लुङ, गोरखा, सोलुखुम्बु, धादिङ, दोलखा,सोलुखुम्बु लगायतका जिल्लाहरुमा लघु जलबिद्युत स्थापना गर्नुभएको छ भने उहाँ टिडी इनर्जी एण्ड मल्टीकन्सन्ट्रक्सन नेपालको संचालन गरिहरनुभएको छ। यसका साथै २५ मेगावाटको दरबाङ हाइड्रोको संचालक, कलेज फर इन्फरमेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङको संचालक र लामा आर्टिटेक्ट एण्ड डिजाइनको पनि संचालक रहनुभएको छ।

म्याग्दी ओभरसिज नेपाली एसोसिएसन ९मोना०युकेका सल्लाहकार र मगर संघ युकेका आजिवन सदस्य रहेका रोकामगर हाल बेलायतको जोसेफ गालाघर लिमिटेडमा सिनियर साइट इन्जिनियरका रुपमा कार्यरत हुनुहुन्छ ।

बेलायतमा रहेका नेपाली समुदायको हकहित र अधिकारका लागि एनआरएनए युकेलाई नेपाली समुदायको एकता र सामूहिक आवाज मुखरित गर्ने थलो बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभएको छ । ‘एनआरएनए युकेलाई नयाँ गति र दिशा दिन तथा नेपाली समुदायको एकता र सामूहिक आवाज बनाउने अठोटका साथ मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ,’रोका मगरले भन्नुभयो , ”विगतमा झैं यसपटक पनि मेरो यस अभियानमा सबैको साथ,सुझाव र समर्थन पाउनेमा विश्वस्त छु ।”

रोका मगरले ७ बुँदे प्रतिबद्धता तथा अभियान समेत सार्वजनिक गर्नुभएको छ । जसमा नेपाली समुदायमा एकता र सामूहिक आवाज बनाउने, एनआरएनए युकेलाई सबैको साझा संस्थाको रुपमा अनुभूति दिलाउने, संस्थागत शुद्धीकरण, समुदायमा एकीकरणमा जोड दिने, गोर्खाहरुको समस्यालाई एनआरएनए युकेको पहिलो प्राथमिकतामा राखी गोर्खासित आवद्ध संस्थाहरुसंग मिली काम गर्ने, एनआरएनए युकेको दुरगामी योजना स्थापना गर्ने, विदेशमा नेपाली भाषा,संस्कृती र पहिचान फैलाउने आदि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार