एमाले प्रवेश गरेका भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी माओवादी केन्द्रमै फर्किए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो ।

तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले निर्वाचित पार्टीकै सदस्यता नबिकरण गरेर राजनीतिमा सक्रीय हुने निर्णय गरेको बताउनुभयो । “केन्द्रिय राजनीतिका कारण तटस्थ रहेपनि अब निर्वाचित पार्टीमै क्रियाशिल हुने निर्णय लिएको छु,” उहाँले भन्नुभयो ।

फगामीसँगै तटस्थ देखिएका कार्यपालिका सदस्य बिष्णुकुमारी दमै र टेकमाया तिलिजा पनि माओवादी केन्द्रमै खुल्नुभएको छ । बि.स. २०७४ असोजमा एमाले र माओवादी केन्द्र एकता हुनुअघी भुरुङ तातोपानीका पाँचै जना माओवादीका जनप्रतिनिधी एमालेमा प्रवेश गरेका थिए । वडा सदस्य वुद्धी पुन र बिरबहादुर पौडेल यसअघिनै माओवादी केन्द्रमा देखिनुभएको थियो ।

पुनलाई माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकाको इञ्चार्जको जिम्मेवारी दिएको छ । उत्तरी म्याग्दीको राजनीतिमा सम्भावना देखिएका फगामी र पुन नेकपा कायम रहँदा एमालेको कोटाबाट जिल्ला कमिटि सदस्य बन्नुभएको थियो ।

मुल पार्टीमा खुल्ने नेता, कार्यकर्ताहरुको निर्णयको स्वागत गर्दै उहाँहरुलाई उचित जिम्मेवारी दिइने नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले बताउनुभयो । फगामी लगायत भरुङ्ग तातोपानीका जनप्रतिनिधि र कार्यकर्ताहरुलाई आफ्नो पक्षमा खुलाउन माओवादीका जिल्ला र प्रदेश तहका नेताहरुले विभिन्न चरणमा पहल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार