कोशी अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाट कुटिए, दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित

मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ ।‘अस्पतालको ड्युटी सकेर घर जाँदै थिए, राति कहाँ हिँडेको भनेर प्रहरीले रोके त्यसपछि केही भन्न नपाई म माथि कुटपिट गर्ने काम भयो’ पीडित राजवंशीले भन्नुभयो । आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उहाँको भनाइ छ ।

देवकोटा चोकमा रहेको प्रहरीको टोली कमान्डरले नकुट भन्दा पनि प्रहरीले कुटपिट गरेको उहाँको भनाइ छ । प्रहरीको कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताउनुभयो ।

उहाँले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘चेकजाँचको क्रममा मोटरसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भननुभयो, ‘घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित
प्रहरीले सहकर्मीलाई कुटपिट गरी घाइते बनाएपछि कुटपिटमा संलग्नलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड १९ का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।

कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा प्रदर्शन भएको हो । नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताउनुभयो ।

‘फ्रन्टलाइनमा रहेर अहिले चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन् । कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान नलिइकन स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु प्रहरीबाट गलत काम भएको छ’ अध्यक्ष सिलवालले भन्नुभयो ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोशी अस्पतालमा बैठक बसेको थियो । बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो। ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार