गण्डकी प्रदेशः मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिंदैछन । आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्न लागेका हुन ।

मुख्यमन्त्री गुरुङलाई चाहिने मन उनको दल नेकपा (एमाले) सँग मात्र छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई खेमामा विभक्त छन् । जसअनुसार गण्डकी प्रदेशमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले मुख्यमन्त्री गुरुङलाई नै साथ दिने घोषणा गरिसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यकता रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आएको हो ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने आजको गण्डकी प्रदेश सभालाई विशेष रुपमा हेरिएको छ । अब सत्ता र विपक्षी दुवैले बहुमत नपुर्याउँदा गण्डकीमा मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना उत्तिकै बलियो बनेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार