गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त,यस्तो छ उनको बिगत

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर्नुभएको थियो ।त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

को हुन गण्डकी प्रदेशका मुख्य मन्त्री नेपाली ?

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मनुभएका पोखरेलले थर पोखरेल भए पनि उहाँ नामपछाडि ‘नेपाली’ लेख्ने गर्नुुहुन्छ । बि.सं २०२२ बाट नेपाली राजनीतिमा होमिएका नेपाली उहाँका पिता प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माको प्रेरणाबाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो ।

उहाँका पिता गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत हुनुभयो । नेपाली शर्माका माहिला छोरा हुनुहुन्छ। पोखरेल परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा आएको थियो।

उहाँले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ ।२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका उहाँ नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रजातन्त्र बहालीका लागि उहाँले पटक-पटक जेल जीवन बिताउनुभयाे। काभ्रे र तनहुँमा पोखरेल शिक्षक भएर काम पनि गर्नुभएको थियो । विद्यालय तहमा उहाँले राजनीतिशास्त्र, भूगोल र इतिहास पढाउनुभयो। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उहाँको शिक्षक पेसा खोस्यो। २०२९ देखि २०३६ सम्म उनले अध्यापन गर्नुभएको थियो। उहाँ कानुनी सेवामा समेत आबद्ध हुनुभएको थियो।

निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलनमा २०४६ र दोस्रो जन आन्दोलन ०६२÷६३ मा उनी जेल चलान गरिए।२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लड्नुभएका २ सय २५ मतले पराजित हहुनुभएको थियो ।२०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्दै नेपाली नवलपुर १ “क” बाट गण्डकी प्रदेशसभामा निर्वाचित बन्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार