चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताउनुभयो । असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’ उहाँले भन्नुभयो । फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालले बताउनुभयो । आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उहाँले दाबी गर्नुभयो ।

कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताउनुभयो । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उहाँले बताउनुभयो।

‘१० दिन ड्युटी गरेर सात दिन क्वारेन्टिनमा बस्न भनियो । तर क्वारेन्टिनमा बसेको अवधि बिदामा जनाइदिएर व्यवस्थापन पक्षले अन्याय गर्‍यो’, गिरीले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार