पुलाचौरका कृषकलाई यान्त्रिक हलो बितरण

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ ।

खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरेर बितरण गर्न थालिएको हो ।

पचास प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिने कृषि कार्यक्रमको उपभोक्ता समितिका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । ४७ हजार २०० रुपैयाँका दरले २३ लाख ६० हजार लागतमा ४८ देखि ५० वटा यान्त्रिक हलो बितरण गर्ने लक्ष्य रहेको कार्कीले बताउनुभयो ।

पुरुण्डीमा शनिबार एक कार्यक्रमका बिच वडा अध्यक्ष लक्ष्मण बानिया र सदस्य रामप्रसाद सुबेदीले यान्त्रिक हलो बितरण कार्यक्रम सुरु गर्नुभएको थियो । पहिलो दिन २० वटा बितरण गरिएको र बाँकी आइतबार बितरण गरिने जनाइएको छ ।

डडुवा, नयाँ गाउँ, चिप्लेटी र पुलाडाडा क्षेत्रका कृषकलाई सामुहिक प्रयोग गर्ने गरि यान्त्रिक हलो उपलब्ध गराइसकिएको छ । बाँकी टोलका कृषकलाई पनि यान्त्रिक हलो उपलब्ध गराउने समितिले जनाएको छ ।

टोल बिकास संस्थाको सिफारिसमा वडा कार्यालयले छनौट गरेका कृषकलाई यान्त्रिक हलो बितरण गरिएको हो । पेट्रोलबाट चल्ने ७.५ हर्स पावर क्षमताको, १७० फएडब्लु डबल गिएर भएको यान्त्रिक हलो उपलब्ध गराइने समितिले जनाएको छ ।

कोटेशनको माध्यमबाट आपुर्तिकर्ता छनौट गरिएको थियो । पछिल्लो समय गोरुको बिकल्पमा कृषकहरुले यान्त्रिक हलो प्रयोग गर्न थालेका छन् । छिटो हुने, गोरु पाल्न नपर्ने र झञ्जट नहुने भएकाले यान्त्रिक हलोप्रति आकर्षण बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार