प्युठानमा एक पुरुष मृत र एक अचेत अवस्थामा फेला

काठमाडौँ । प्युठानमा एक पुरुषको हत्या भएको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।

मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ वर्षीय हेमन्त पुनमगर भनेर चिनिने नरेन्द्र पुनमगर छन्। उनकै साथी सुरेश बस्नेत गम्भीर घाइते छन्।घाइते बस्नेतको भैरहवा मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन भइसकेको छ भने अवस्था गम्भीर छ। बस्नेतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

‘हिजो बिहान सवा ६ बजेतिर हामीलाई खबर भएको थियो। घटना कतिबेला भएको हो भन्ने खुलेको छैन,’ प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो,’जंगल क्षेत्र पनि घर पनि भएको ठाउँ हो। शव भिरालो गोरेटो बाटोमा फेला परेको छ।’

प्रहरीले केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरी थप अनुसन्धान गरिरहेको छ। तर कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन। पुन र बस्नेतमाथि ठूला फलामका रड वा लाठ्ठीले हिर्काएको प्रहरी नायब निरीक्षक मल्लले बताउनुभयो। पुनका दाइ रविन्द्र पुन मगरका अनुसार उनीहरू दुबैजना आफ्नी दिदीको घरमा अघिल्लो दिन काम गर्न गएका थिए।

‘भाइ दिदीको घरमा पहिरोले गोठ भत्केको भनेर बनाउन अघिल्लो दिन गएका थिए। त्यही दिन काम सकेर फर्किएका थिए,’ रविन्द्रले भने,’काम गरेर फर्किने क्रममा बीच बाटोमा कतिबेला त्यो घटना भयो। प्रहरीले अनुसन्धान गर्दैछ। बिहान शव भेटिएको हो।’उनीहरूमाथि कुनै समूहले हो की व्यक्तिले आक्रमण गरेको भन्ने पनि खुलेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार