बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को

काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्।

चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन्।

ती हात्ती हुल बाँधेर कहाँ हिँडेका हुन्रु यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियालाई सोध्यौं। उहाँले भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको बताउनुभयो।

‘जंगली हात्तीहरू नेपाल आएको जानकारी पाएका छौं। यी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुगिसकेका छन्। उनीहरू वारिपारि गरिरहन्छन्,’ कडरियाले भन्नुभयो ,‘अब एक महिनाजति यता बसेर फेरि उता जान्छन्।’

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको दूरी लगभग १० किलोमिटर छ। ‘यहाँ उनीहरूको हिँड्ने परम्परागत बाटो छ। त्यही बाटोमा हिँड्छन्। मान्छेको बस्तीमा पस्दैनन्। उनीहरूको बाटो अतिक्रमण गरेर बनाएका घर वा बाटोमा मान्छे भेटिए कुल्चिन सक्छन्,’ प्रमुख कडरियाले भन्नुभयो।

उहाँका अनुसार यी नेपाल-भारत ओहोरदोहोर गरिरहने यी हात्तीको गणना पनि दुबै देशको हुन्छ। यता बस्दा यतै गणना हुन्छ, उता जाँदा उतै गणना हुन्छ। त्यसैले हामीले बर्दिया निकुञ्ज १२० हात्तीमध्ये ५०-६० मात्रै यहाँ बस्छन् भन्छौं,’ कडरियाले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार