मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई आजको बैठकले केही खुकुलो बनाउने निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार मकवानपुरमा अत्यावश्यक खाद्यान्न, तरकारी, माछा मासु पसलहरु बिहान ४ बजेदेखि १० बजेसम्म खुल्ने छन् । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमित रुपमा दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कारोवार सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै स्थलगत रुपमा आर्थिक संकलन नगर्ने गरी जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई पनि दैनिक बिहान १० बजे देखि दिउँसो २ बजेसम्म कारोबार सञ्चालन गर्न अनुमति दिएको छ ।

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले जिल्लामा सञ्चालनमा रहेको पुस्तक तथा स्टेशनरी पसलहरु पनि बिहान १० बजेसम्म खोल्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले मोवाइल, ल्यापटप लगायत इलेक्ट्रोनिक्स सामग्री मर्मत गर्ने पसलहरु पनि सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार