कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ ।

विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार रहेको बताउनुभयो ।

विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको हो’ उहाँले भन्नुभयो । सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ ।

‘प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ,’ विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले पहिलोपटक कांग्रेसमा वेबसाइटमार्फत क्रियाशील सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) गर्ने काम गरेको थियो । कांग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुँदैछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार