चितुवाको छालासहित दुई जना पक्राउ

दाङ । चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम(पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट उनीहरूलाई पक्राउ गरेको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो। सिमेन्टको बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी खटिएको थियो।

प्रहरीले उनीहरूमाथि चेक गर्दा छाला फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो। प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको हो।

यद्यपी स्रोतले उनीहरूलाई मंगलबार राति बाँकेको राप्ती सोनारी गाउँपालिकाको रिक्टा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार