पर्यटकको गन्तव्य बन्दै कोप्रे झरना (फोटो फिचर)

म्याग्दी । कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए पनि मन फुकाएर हिँड्न सकिरहेका छैनन् ।


लामो समयदेखि घरभित्रै बसेर आजित बनेका मानिसहरु यतिबेला मन शान्त पार्न र रमाइलो गर्नका लागि पर्यटकीय स्थलहरुको खोजीमा छन् । तनावमुक्त हुन उनीहरुलाई रि–फ्रेस हुने ठाउँहरु चाहिएको छ । रमाइलो गर्न र मनोरञ्जन लिने ती ठाउँहरु झरना, पदमार्ग, वनजङ्गल, डाँडापाखा, हरियाली ठाउँलगायत पर्यटकीय क्षेत्र हुन सक्छन् ।


पछिल्लो समय पर्यटकहरुको गन्तव्य बन्दै जान थालेको छ, म्याग्दीको कोपे्र झरना । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । दोस्रो चरणको कोरोनाको संक्रमणदर घटेसँगै अहिले म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको हो ।


भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयबासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा विदाको दिनमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै १ सयको हाराहारीमा पर्यटकहरु घुम्न आउने गरेको स्थानीय बताउँछन् ।


बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् ।


स्थानीयले जनाएअनुसार कोप्रे छहरामा पहिलेदेखि नै मानिसहरु जाने गर्दथे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको आन्तरिक पर्यटक प्रकृति ढुङ्गानाले अनुभव सुनाउनुभयो ।

 

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोप्र झरनामा कतिपय पर्यटकहरु टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटीहरु धेरै जाने गर्छन् ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा विकास गर्नका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।उज्यालो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार