पहिरोले रघुघाट बस्ती उच्च जोखिममा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित रघुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका २६ घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती नै पुर्ने हो भन्ने चिन्ताले यहाँका स्थानीयवासीहरु चिन्तीत छन् ।

बेनी–जोमसोम र गलेश्वर–पिप्ले–भगवति सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासीहरु बताउँछन् । गत वर्ष देखि गलेश्वर–पिप्ले–भगवति सडक निर्माण थालिएको थियो ।कमजोर र भिरालो जमिनमा जथाभावि रुपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासीहरु बताउँछन् ।

सडक बनाउदा प्रर्याप्त सावधानी नअपनाएका कारण वस्तीमाथि पहिरो खस्न थालेको स्थानीय रघुघाट बस्ती टोल सुधार समितिका अध्यक्ष तमबहादुर छन्त्यालले बताउनुभयो । कमजोर भुभागमा सडक बनाउन डोजरले जथाभावि भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पुरै पाखो खस्न थालेको उहाँको भनाई छ ।

वस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै काम नभएको उहाँको गुनासो छ । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेको छन्त्यालले बताउनुभयो । ‘सडक निर्माणमा लापरबाही हुँदा वस्ती नै विस्थापित हुने अवस्था आएको छ,’– उहाँले चिन्ता व्यक्त गर्नुभयो ,‘वस्ती संरक्षणका लागि सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरेपनि बेवास्ता हुने गरेको छ ।’

सडक निर्माण गर्दा लापरबाही भएका कारण वस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको सरोकारवालाको भनाई छ । पहिरोको कारण बेनी–जोमसोम सडक समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नुपरेको छ । निरन्तर खस्ने पहिरोका कारण अवरुद्ध सडक खुलाउने काम पनि प्रभावित बनेको छ । पहिरोले रघुघाट नदीमा निर्माणाधिन पुल पनि जोखिममा परेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार