१५ गतेसम्म खोप नदिए चाबी बुझाउने बागलुङका होटल व्यवसायीको चेतावनी

बागलुङ । बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना विरुद्धको खोप व्यवस्थाको माग गरेका छन । व्यवसायीले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको भए पनि आफुहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी सहितको टोलीले बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन ।

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसंगै अन्य क्षेत्र खुकुलो भए पनि होटल व्यवसायीलाई सरकारले हेर्ने नजर फरक रहेको आरोप लगाएका छन् ।

होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम बढेकोले खोपको माग सहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो। कोरोना संक्रमण र लकडाउनले होटल व्यवसाय सबैभन्दा बढि मारमा परेको बताउँदै होटल सञ्चालक एवं कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउने सवालमा राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गरेका छनु ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले कोरोना विरुद्धको खोप उपलव्ध गराउने सवालमा होटल व्यवसायीलाई प्राथमिकता नदिएकोमा आपत्ती व्यक्त गर्दै मानिस काम विषेशले घरबाट बाहिर निस्कदा साथ सेवा दिने होटल व्यवसायको महत्वपूर्ण भूमिका हुने भएको हुँदा राज्यले सोहि अनुरुप हेर्नुपर्ने बताउनुभयो ।

पटक—पटक आग्रह गर्दा समेत व्यवास्ता भएकोले आगामी १५ गतेसम्म पनि आफुहरुको माग सम्वोधन नभए १६ गते धर्ना बस्न बाध्य हुने र २० गते प्रशासनलाई व्यवसायीहरुले चापी हस्तान्तरण गर्ने जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कार्कीले केन्द्रको निर्देशन अनुसार अहिले जिल्लामा खोप लगाउने काम भैरहेकोले अब चाडै नै सबैले खोप पाउने बताएका थिए । लक डाउन दिन प्रतिदिन खुकुलो भएसंगै मानिसको चहल पहाल बढेकोले होटल व्यवसायी र होटलमा कार्यरत कर्मचारीहरुलाई खोप नलगाउँदासम्म अन्य क्षेत्र सुरक्षित हुने सम्भावना नरहेको होटल व्यवसायीले बताएका छन् । होटल व्यवसाय क्षेत्रसमेत उच्च जोखिमयुक्त क्षेत्र भएकोले व्यवसायीलाई पनि सरकारले जोखिमको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा कोरोका संक्रमित तथा वैदेशिक रोजगारीबाट घर आएकालाई बागलुङको होटल हरुमा क्वारेन्टीनमा बस्ने व्यवस्था गरेको भए पनि कोरोना खोप लगाउँदा अफुहरुलाई प्राथमिकतामा नराख्नु दुःखद भएको व्यवसायीहरुले गुनासो गरेका छन ।

होटल व्यवसायको क्षेत्रमा रहेका व्यक्तिहरु पनि विभिन्न खालका मानिसहरुसँग निकट रहने हुँदा होटल मात्र नभई व्यवसाय क्षेत्रमा रहेका जो कसैलाई खोपको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण करोडौंको नोक्सानी व्यहोरेका होटल व्यवसाय क्षेत्र अझै पनि पुरानो अवस्थामा फर्किन नसकेकोले तत्काल खोपको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्ने बातावरण सिर्जना गरिदिन आग्रह गरेका छन् । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार