अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्‍चितकालका लागि स्थगित

काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदाधिकारी सहमत भएका हुन् ।

यस श्रृंखलालाई २०२२ मा गर्नका लागि प्रयास गरिने पाकिस्तानी क्रिकेट बोर्डले जारी गरेको ट्वीटमा उल्लेख छ । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद सिनवारीले यसअघि पाकिस्तानमा शृंखला सार्ने प्रयास भएपनि अन्ततः यसलाई स्थगित गर्ने निर्णयमा पुगेको बताए ।

तालिवानले अफगानिस्तान कब्जा गरेयता काबुलबाट कुनै पनि व्यवसाहिक उडानहरु सञ्चालन भइरहेको छैन, त्यसैगरी शुक्रबारमात्रै श्रीलंकाले आफ्नो देशमा १० दिने लकडाउन घोषणा गरेको छ । यहाँ, बुधबार एकैदिन ३ हजार ७ सय ९३ जनामा कोरोना देखिएको थियो भने त्यसदिन सर्वाधिक १ सय ८७ जनाले ज्यान गुमाएका थिए ।

अफगानिस्तानको टोलीले सडकमार्ग हुँदै पाकिस्तान, त्यसपछि हवाई मार्गबाट दुबई र त्यहाँबाट कोलम्बो जाने अनुमान पनि लगाइएको थियो, तर कोभिड १९ प्रोटोकलका कारण यो घुमाउरो रुट पनि चुनौतीपूर्ण थियो । त्यहीकारण पाकिस्तानमा खेल सार्ने विषयमा पनि छलफल भएका थियो ।

‘यस साँझसम्म हामी पाकिस्तानसँग शृंखला खेल्न सहमत थियौं । र, उनीहरुले दिएको सहयोगका लागि हामी धन्य छौं,’ सिनवरीले भने,‘तर त्यसपछि अवस्था बुझ्न, विशेषगरी हाम्रा खेलाडीको मानसिक अवस्थाका कारण उनीहरु तयार छैनन् भन्ने हामीलाई लाग्यो । उनीहरु तयार छैनन् भन्ने हामीले थाहा पायौं । हामीलाई क्याम्पको जरुरी थियो र खेलाडीहरुलाई मौसममा अभ्यस्त गराउनका लागि समय पनि लाग्ने थियो ।’

उनले थपे,‘हामीले धेरै समय गुमाइसकेका छौं र पाकिस्तानविरुद्ध छोटो तयारीले पुग्दैन । पाकिस्तान राम्रो टोली हो र उसको घरमा खेल्नका लागि पूर्ण तयारी आवश्यक पर्छ । बिडम्बना, अहिले हामी त्यस्तो अवस्था छनौं र अनिश्चितकालका लागि यो खेल सरेको छ ।’

तालिवानले सत्ता कब्जा गरेपनि अफगानिस्तानको १७ सदस्यीय राष्ट्रिय टोली पाकिस्तानविरुद्ध तयारी गर्नका लागि गत साता काबुलमा भेला भएको थियो । यता, पाकिस्तानले भने समयमै टोली घोषणा गरिसकेको थिएन । रातोपाटी/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार